एमाले उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको उनको सचिवालयले जनाएको छ।
उपाध्यक्ष गौतमका स्वकीय सचिव दीपक टमाटाले नेता गौतम एमालेमै रहेको र माधवकुमार नेपालले हालसालै गठन गरेको एकीकृत समाजवादी पार्टीमा नगएको स्पष्ट पारेका हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा नेता गौतमको नाम जोडेर मन्त्री बन्न लागेको र एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशन गर्नु चरित्र हत्याबाहेक केही नभएको बताएका हुन्।
‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ टमाटाले फेसबुकमा लेखेका छन्।
एकीकृत समाजवादी पार्टीमा गएको र मन्त्री बन्न लागेको भन्ने खालका समाचारमा कुनै सत्यता नरहेको पनि टमाटाले फेसबुकमा उल्लेख गरेका छन्।
‘क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो,’ उनले लेखेका छन्, ‘तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’