काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलबार निर्णय हुने भएको छ ।
मंगलबार बिहान तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप निर्णय गर्ने योजना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
पछिल्लो पटक साउन २८ गते काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा भदौ ८ गते मंगलबार सकिदैछ ।
पछिल्लो निषेधाज्ञामा राति ८ बजेदेखि बिहानसम्म निजी तथा सार्वजनिक सवारी साधन चलाउने नपाइने निर्णय गरिएको थियो।
सबै प्रकारका सभा , सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरन्जन स्थल, संग्रहालय, रंगशालाका गतिविधिमा रोक, धार्मिक तथा सांस्कृतिक गतिविधिमा रोकलगायत पुराना प्रावधान कायमै राखिएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणदर बढ्दै गएकोले जारी निषेधाज्ञा थप हुनसक्ने बताइएको छ । अझ केही कडाइ समेत हुनसक्ने अनुमान गरिएको छ । तर अबको मोडालिटीका बारेमा कुनै निर्णय नभएको पराजुलीले बताए ।
काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा लगाउदै आएको छ।