logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभर विभिन्न कार्यक्रमसहित गाईजात्रा पर्व मनाइँदै


अंकुरण खबर
676
Shares

भदौ कृष्ण प्रतिपदाका दिन यही वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदै छ ।

विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन रहेको छ ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भएकी रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन यो जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ ।

यिनै राजा प्रताप मल्लले जो जसका घरमा मानिस मरेका छन्, ती घरबाट गाई ल्याऊनूू भनेर उर्दी दिएकाले आशौच परेका घरबाट गाई शृङ्गार गरेर हनुमानढोका दरबारमा उपस्थित गराउने चलनअनुसार यो पर्व मनाउँदै आइएको छ । जात्रामा आएकालाई पितृको स्मृतिमा फलाहार र दक्षिणा दिने प्रचलन पनि छ ।

निकैपछि यो पर्वलाई व्यङ्ग्यात्मक प्रहसन प्रस्तुत गरेर कुण्ठित भावलाई उजागर गर्ने गरिएपछि यसले जात्राका रूपमा लिएको हो भनिन्छ । निकै संवेदनशील र भावना जोडिएको यो पर्व जात्रामा परिणत हुनु राम्रो होइन, ठट्टा रमाइलोको विषय यो पर्वमा हुन सक्दैन भन्ने मत पनि सहर बजारमा विकसित भइरहेको छ ।

अन्य जिल्लाहरुमा पनि आज गाईजात्रा धुमधाम मनाउने चलन भएको भए पनि कोरोना महामारीका कारण भिडभाड नगरी पर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेकमा कारण योवर्ष गाईजात्रा औपचारीकतामा मात्रै रहने बताइएको छ ।

केही वर्षयता नेवारी बस्ती विकास भएको मुलुकका विभिन्न भागमा समेत यो दिन गाईजात्रा मनाउने गरिन्छ । विषेश गरि जिल्ला सदरमुकाम र प्रमुख ब्यापारिक केन्द्रहरुमा नेवार समुदायको वसोबास रहँदै आएको छ ।

गाईजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, ओखलढुंगा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङ लगायतका जिल्लामा पनि धुमधामका साथ मनाइन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्ला वर्षमा जस्तो भिडभाड नगर्न सरकारले आग्रह गरेको छ ।