नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन सोमबार बुझाउँने तयारी गरेको छ ।
प्रतिवेदन अपराह्न ५ बजेभित्र प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने समितिको तयारी छ ।
आइतबार केही विषयमा नमिलेको कारण प्रतिवेदन बुझाउन नसकिएको तर अहिले लगभग सहमति बनेकोले सोमबार नै बुझाउने तयारी भएको समिति सदस्य रमेश लेखकले बताए ।
तर, देउवानिकट एक पदाधिकारीले भने आजै प्रतिवेदन बुझाउनेमा शंका व्यक्त गरे । समितिले सभापतिलाई नबुझाएसम्म अधिवेशनको मिति तोक्न नसकिने उनले बताए ।
गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले भदौ पहिलो साता पुग्दा समेत प्रतिवेदन बुझाउन सकेको छैन ।
कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।