logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना परास्त गर्दै मृत्युको मुखबाट बाचेर आएका त्यी कहालीलाग्दा दिन …


अंकुरण खबर
5.343K
Shares

विश्वलाई नै भयभित बनाएको कोरोनाका कारण अपसोच कति टुहुरा भए त कत्तिको कलिलो उमेरमै सिउँदो उजाडियो । कत्तिको काख रित्तियो त कत्ति बेसाहारा बने । अकल्पनीय रुपमा अफन्त गुमाउँदा या अस्पतालको शैयामा जीवन र मृत्युसंगको लडाइमा छलपटिदा सुनाई र देखाईको पीडा जति हुन्छ भोगाईको पीडा त्यो भन्दा धेरै दर्दानक ।

जब आफैलाई पर्यो :

आज म कुनै समसामयिक या धेरैले खोजेको विषय विस्तु लेख्दै छैन्, नितान्त व्यक्तिगत भोगाई र अनुभव ।

कोरोनाको दोस्रो लहर बढेसंगै अघिल्लो महिना मेरो परिवारमा पनि कोरोनासंग मिल्दाजुल्दा लक्षण देखियो । लगतै १,२ दिनमै ठीक भयो । तर त्यसको २ दिन पछि श्रीमानलाई टाउको दुख्ने र हनहनती ज्वारो आउँन थाल्यो । ज्वारो यति पुग्यो की सिटामोल खाए एकछिन् ९९,१०० डिग्री फरेनहाइटमा झर्ने नत्र १०३ । ज्वारो नघटेपछि पीसिआर परीक्षण गरायौं नतिजा पोजेटिभ आयो ।

अरुको देखाई र आफ्नो भोगाई नितान्त फरक कुरा रहेछ भन्ने कुरा श्रीमानलाई कोरोना पुष्टि भए पछि अनुभुत भयो । नतिजा नआउञ्जेलसम्म अन्य फ्ल्यू पो होकी ? यदि कोरोना संक्रमण नै भएपनि अन्य रोग केही नभएको युवा सहजै ठीक भैहाल्छ भन्ने सोचाई थियो । तर पोजेटिभको म्यासेज आउने वितिकै त्रास बढ्यो,कोरोनालाई हेर्ने हाम्रो तील जत्रो दृष्टि क्षणभरमै पहाड जस्तो लाग्यो । संक्रमणले अर्को तनाब थपियो ६ वर्षीय छोराको । उसलाई समेत सर्ने हो कि भनेर मन झन घायल भयो, सन्नटा छायो ।

निरास भएर बसिरहनु पनि त भएन । छिटो संक्रमणमुक्त हुन आफ्नो विवेकले भ्याएसम्म खानपानका साथै सावधानी अप्नायौं । संक्रमित भए पछि  विभिन्न निकायबाट फोन गरि बिरामीको अवस्था बुझिदो रहेछ । हामीले आफुमा देखिएका लक्षण बतायौं । त्यहाँबाट प्राप्त सुझब मनन ग¥यौ । साथै विगत केही वर्षदेखि मैलै स्वास्थ्य बिटमा रिपोटिङ गरेकाले चिनजानका डाक्टरहरुसंग सल्लाह गरे । उहाँहरुले भने बमोजिम औषधि सेवान र अन्य सावधानी अप्नाएका थियौं । श्रीमानलाई गन्ध,स्वाद हराउने,स्वास फेर्न असहज हुने,खोकी लाग्ने, खाना अरुची हुने केही थिएन, थियो त ज्वारो र टाउको दुखाई ।

जटिल लक्षण नदेखिए पनि त्रास कायमै थियो । यद्यपी डाक्टरहरुको सुझाव अनुसारका औषधि खाए र खानपानमा ध्यान दिए ठीक भैहाल्छ भन्ने विश्वासमा बस्यौ । संक्रमित सबैले जटिल समस्या नभए ५,७ दिनबाट घट्न थाल्छ भन्ने अनुभव सुनाउनु हुन्थो । औषधि खाएको एक छिन ज्वारो र टाउँको दुखाई कम हुन्थो । अब ठीक हुन्छ भन्ने आश जाग्यो तर एकछिन पछि अवस्था उस्तै ।

पोजेटिभ आएको चार दिनको बिहानै श्रीमानलाई खोकी लाग्यो , खोक्दा श्वास फेर्न असहज हुँदोरहेछ । अब हस्पिटल जाउँ र एक्सरे गरौ भन्ने सल्लाह गर्यौ । बिहानै छातिरोग विशेषज्ञ तथा नेपाल नेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्याललाई फोन गरे र अस्पताल गयौं । अस्पतालमा आवश्यक परीक्षण गरियो । एक्सरेमा निमोनिया देखियो । तुरुन्त भर्ना गरेर औषधि चलाउनु पर्ने भनेपछि भर्ना भयौं ।

अत्यासमय त्यी ६ दिन

भर्ना भएपछि औषधि चलाइयो । दिउँसोबाटै ज्वारो घट्यो टाउँको दुखाई पनि कम, खोकि नलाग्दा श्वासप्रश्वासमा कुनै समस्या थिएन् । अन्धारमा रमलिएको बेला थोरै भए पनि उज्यालो पाएझै भयो ।

डार्बिनले भनेजस्तै जीवन भनेकै बाँच्नका लागि संघर्ष रहेछ। भर्ना भएको तेस्रोे दिन बेलुकाबाट हिक्क-हिक्क लाग्यो । हिक्क-हिक्क लाग्दा श्वास फेर्न गाह्रो हुने, दिसा राम्रोसंग भएन् , चक्कर लाग्ने झन कमजोरी बनायो । तागतिलो खानेकुरा बढी खानुपर्छ भनेर रुची नभए पनि बल गरेरै खाना खुवाउथे । अत्मबल बलियो बनाउनु पर्छ भनेर आफ्ना बेदना मनभित्रै कुण्ठित गरेर श्रीमानलाई साम्झाउथे । तर उहाँको अबस्था झन-झन कमजोर बन्दै गएको थियो । सिटीको रिपोर्टमा पनि पहिलेको तुलनामा निमोनिया बढेको देखियो । अस्पताल बसाईको चौथौं-सातौ दिन निकै गाह्रो भयो । अक्सिजन लेबल ९२ माथिनै कायम राख्ने भनेर पाचौं दिन बेलुकाबाट आठौं दिनसम्म अक्सिजन लगाएर सन्तुलन गरियो ।

परिस्थिति जस्तो भए पनि मनस्थिति बलियो बनाए जस्तो सुकै समस्या पनि समधान हुन्छ भन्ने आशय राखेर दृढ मनोबलमा साथ अगाडी बढ्ने म त्यस समयमा भने एकदमै कमजोर भएको अनुभूत गरे । शैयामा अक्सिजन अगाएर सुतेको श्रीमानलाई हेर्थे समालिन असध्यै गाह्रो हुन्यो । दिनमा त स्वास्थ अवस्था बुझन आफ्न्त,इष्ट मित्र आउँने ,डाक्टर नर्स आइरहने आत्मबल अलि बढ्थो । जब रात पर्दै जान्थो अनेक तर्कना आउँथो,अत्यान्तै अत्यास लाग्थो ।

अनिदा त्यी ५ रात

अरुलाई पर्दा सम्झाउनु र आफुलाई पर्दा भोग्नु धेरै फरक हुँदो रहेछ । श्रीमानको अक्सिजन लेबल ९०-९२ थियो । कोभिडको निमोनिया उच्च जोखिम हुने नै भयो । अक्सिजन लगाउँनजेल ५ दिन रातमा सुत्नत के शौचालय जाँदा पनि डर लाग्थो । कतै शौचालयगएको बेला या नदिएको बेला अक्सिजन लेबल घट्यो भने… । छिन छिन अक्सिजन लेबल नाप्थे । सुत्यो भने निदाइन सक्छ भनेर अक्सोमिटर कानमा सिउरेर बस्थे यदि निदाइ हाले पनि बिजाएर निद्रा खुलोस भनेर ।

जब अस्पताल बसाईको आठौं दिन भयो तब श्रीमानलाई केहि सहज भयोे । औषधि पनि कम गरियो । अक्सिजन नलगाउदै ९२ देखि ९५सम्म अक्सिजन लेबल पुग्यो । शरीरमा स्पूर्ति पनि विस्तारै आयो ।

जिम्मेवारीले व्यक्त गर्न नदिएको त्यो रोदन

जब धेरै समस्या पर्छ त्यो बेला जोसुकै मानिस पनि भावविह्वल हुन्छ नै । आखिर सबैको हृदय त एकै न हो स्वभाव,व्याबहार फरक भए पनि । अस्पताल बसाईका त्यी अप्ठ्यारा दिनमा अस्पतालको शैयामा श्रीमानको त्यो अवस्था, घरमा सानो छोरा, कोरोनाकै कारण ज्यान गुमाउनेको खबर सुन्दा भित्र भित्रै ज्वालामूखि बिस्टोप होलाजस्तो हुन्थो । तर यस्तो परिस्थिमा पनि मलाई आफ्नो पीडा,चित्कार व्यक्त गर्ने छुट थिएन् । कोरोनाको बिरामी भएकाले श्रीमानको हेरबिचारको साथै व्यवस्थापकीय जिम्मेवारी पनि आफैैले सम्माल्नु पर्ने थियो । म नै कमजोर भए अवस्था झन भयावह हुन्छ ,पीडालाई चट्टानी साहाशमा बदले मात्र छिटो निको पार्न सकिन्छ भनेर सुस्ताएको मनलाई जागृत गराउने प्रयत्न गर्थे ।

त्यस समयमा पटक-पटक अभावको महशुस गरे प्रबासमा रहनु भएका ममी बुबा(सासु ससुरा)लाई । साथमा भैदिए त्यो कठिनता केही सहजतामा परिणत हुन्थो होला । छोरो त्यो अवस्थामा अस्पतालमा हुँदा कत्ति पीडाबोध भयो होला उहाँहरुलाई । सन्तान बिरामी हुँदा कस्तो हुन्छ भन्ने कुरा मैलै २ वर्ष अघि छोराको हात भाँचिएर सल्यक्रिया गर्दा नै अनुभूत गरेकी थिए ।

कोरोना लाग्दा समस्या नपरि अस्पताल जानुहुन्न भन्ने भ्रम

हुन त बेलाबेलामा अस्पतालमा सानो लाप्रबाहीले बिरामीको ज्याननै गयो भन्ने तितो वास्तविकताबाट अनविज्ञ हैन् म । नीजि अस्पताल र चिकित्सकले पैसाका लागि मानवता बिर्सिनछन् भन्ने कुरा नसुनेको पनि हैन् । त्यस माथि कोरोनाको बिरामी नीजि अस्पतालमा नलादा राम्रो भन्ने बुझाई । तर मेरो अनुभवमा यी कुरा असत्य जस्तो लाग्यो । अस्पताल मन्दिर र डाक्टर भगवान जस्तै हुन भन्ने कुरामा म पूर्ण सहमत भए । अस्पताल पुगेपछि सबैको यस्तै अनुभव रहोस भन्ने मेरो मनोकांक्षा पनि छ ।

बिरामी अस्पताल भर्ना गरेपछि निको पार्ने सम्पूर्ण जिम्मा अस्पतालको मात्र भनेर बस्नु नहुने रहेछ । बिरामीको सहयोगि हर कुरामा अलि चनाखो रहे रोग निधान गर्न सहज हुने मेरो बुझाई छ । साथै संक्रमण पुष्टि हुनसाथ अस्पताल जान पाएको भए यो अबस्था आउँने थिएनकी भन्ने कुरा मनमा खड्की रह्यो।

सधैं  आभारी र ऋणी छु

म र मेरो श्रीमानको तर्फबाट धन्यवाद छ, उपचारमा संलग्न डाक्टर प्रकाश पौड्याल लगाएत अन्य डाक्टर, नर्स तथा पुरै अस्पताल परिवारलाई । जीवन र मृत्युको दोसाधमा रहेका बेला डाक्टर प्रकाश तपाइले चिकित्सकीय धर्म पुरा गर्न कुनै कसर बाँकी राख्नु भएन नै, अझ हामी छौ केही हुदैन नतात्तिनु भनेर पटक पटक दिने सान्त्वना र सद्धभावले हामीलाई थप शक्ति प्राप्त हुन्थो । अस्पताल बसाईका क्रममा हरेक कुरामा सहजिकरण गरिदिएकाले हामीलाई ठुलो सहयोग पुग्यो ।

बेचैन त्यी दिनमा सक्दो सहयोग गर्नु हुने एपीएफका डाक्टर शैलेन्द्र दुवाल श्रेष्ठ तपाईको गुणको म ऋणी छु । साथै डाक्टर रोशन पराजुली लगायत त्यस समयमा मलाई भेटेर या फोन मार्फत सहयोग गर्ने सबै डाक्टरहरु प्रति हृदयदेखि सादुवाद । तपाईहरुको साथ सहयोग र सुझाबले सम्मालिन र आत्मबल बढाउन मलाई ठुलो सहयोग मिल्यो ।

अस्पताल बसाईका क्रममा आवश्यक्ता अनुसार हर तरिकाले हर समय सहयोग गर्ने सम्पूर्ण आफ्न्तजन,इष्टमित्रलाई विशेष धन्यवाद । त्यो साथ सहयोगले हामीलाई आत्मबल बढ्नुका साथै छिटो निको हुन सहयोग पुग्यो । त्यस समय स्वास्थ लाभको कामनाका गर्दै फोन गर्ने सबैसंग सम्पर्कमा रहन नसकेकोमा क्षमाप्रार्थी छु ।

र अन्त्यमा कोरोना सोचे जतिको सहज पट्कै छैन् । नपरुञ्जेल केही हैन परे पछि यो भन्दा जटिल रोग नै छैन् । यसबाट जोगिन आवश्यक सावधानी अप्नाउँ । संभव भएसम्म सबैले कोरोना भाइरस बिरुद्धको खोप लगाउँ । संक्रमित भए घरमै निको हुन्छ भनेर नबसौ, बेलैमा अस्पताल जाउँ, संभावित जटिलताबाट बचौं ।