विभिन्न देशका लागि नेपालको राजदूत रहेका पाँचजना कूटनीतिकर्मीहरूले अफगानिस्तानमा तालिबानको विजय दक्षिण एसियाका लागि चिन्ताको विषय भएको बताएका छन् ।
आफ्नो हस्ताक्षर सहित राजदूतहरू हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, दुर्गेशमान सिंह, सुरेश चालीसे र महेश मास्केले एक वक्तव्य जारी गर्दै अफगानिस्तानमा विकसित परिस्थितिले दक्षिण एसियामा सामाजिक आर्थिक, आप्रवास तथा सुरक्षाका विषयमा दीर्घकालीन परिणाम देखिने बताएका छन् ।
तालिबानले आममाफी तथा महिलालाई अधिकार दिने विषयमा प्रतिबद्धता व्यक्त गरेको भए पनि उनीहरूको विगतको व्यवहार हेर्दा यसमा शंका गर्नुपर्ने प्रशस्त ठाउँ रहेको पूर्व राजदूतहरूको धारणा छ ।
यस महत्त्वपूर्ण घडीमा सार्कको अध्यक्ष मुलुकको नाताले क्षेत्रको स्थिरताका लागि नेपालको भूमिका रहनुपर्ने पूर्व राजदूतहरू लेख्छन् । उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्नका लागि यस क्षेत्रमा सरोकारवाला मुलुकहरूसँग संवादका लागि तत्कालै पहल थाल्न पनि पूर्व राजदूतहरूले नेपाल सरकारलाई आग्रह गरेका छन् । एजेन्सी