logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तालिबानले अफगानिस्तानको अर्थमन्त्री, गृहमन्त्री र शिक्षामन्त्रीको टुंगो लगायो


अंकुरण खबर
624
Shares

अफगानिस्तान कब्जा गरेपछि तालिबानले हाल सरकार गठनको प्रक्रिया अगाडि बढाएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार तालिबानले मंगलबार कार्यवाहक अर्थमन्त्री, शिक्षामन्त्री र गृहमन्त्रीको टुंगो लगाएको छ। तालिबानले १५ अगष्टमा अफगानिस्तान कब्जामा लिएका थिए।

रोयटर्सले अफगानिस्तानको न्युज एजेन्सी पाजवोकलाई उदृतगर्दै तालिबानले कार्यवाहक शिक्षामन्त्रीमा सखउल्लाह, अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख साथै गृहमन्त्रीमा सदर इब्राहिम र अर्थमन्त्रीमा गुल आगा नियुक्त गरेको जनाएको छ। यस्तै मुल्ला सिरिनलाई काबुलको गभर्नर र हमदुल्ला नोमानीलाई काबुलको मेयर साथै गुप्तचर विभागको प्रमुख बनाइएको बताइएको छ।

यसैबीच मुल्लाह गनी बरादर र हिबातुल्लाह अखुन्दजादामध्ये एक जना देशको राष्ट्रपति बन्ने चर्चा छ।

मुल्लाह गनी बरादर

मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए। सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो। सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन। त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी रिहाइ गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो। सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्‍यो।

उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए। सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे।

इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो। उनी दुर्रानी समुदायका भएका ठानिन्छ।

हिबातुल्लाह अखुन्दजादा
हिबातुल्लाह अखुन्दजादा अफगान तालिबानका प्रमुख नेता हुन्। उनी इस्लाम धर्मका विद्वान हुन् जो कान्दहारबाट आएका हुन्। उनले नै तालिबानको दिशा बदलेर अहिलेको अवस्थामा ल्याइपुर्‍याएको ठानिन्छ।

तालिबानको गढ रहेको कान्दहारसँग जोडिएका कारण उनले तालिबान नेतृत्वमा आफ्नो पकड बनाउन सकेको ठानिन्छ। सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत सङ्घको विरुद्ध अफगानिस्तानमा विद्रोहका एक कमाण्डरको भूमिका खेलेका थिए।

तर उनको पहिचान एक सैन्य कमाण्डरको रूपमा भन्दा पनि एक धार्मिक विद्वानको रूपमा ज्यादा भएको पाइन्छ। अफगान तालिबानका प्रमुख नियुक्त हुनुभन्दा पहिले पनि उनी तालिबानका शीर्ष नेताहरूमध्ये रहेका थिए। धर्मसँग जोडिएका आदेशहरू उनै दिन्थे।

उनले दोषी पाइएका हत्यारा वा अवैध यौन सम्बन्ध राख्नेहरूलाई हत्याको सजाय तथा चोरी गर्नेहरूलाई हात काट्ने सजायका आदेश दिएका थिए। हिबातुल्लाह तालिबानका पूर्व प्रमुख मोहम्मद मन्सुरका उपप्रमुख पनि थिए। सन् २०१६ को मे महिनामा अमेरिकी ड्रोन हमलामा मन्सुरको मृत्यु भएको थियो।

मन्सुरले आफ्नो इच्छापत्रमा हिबातुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए। करिब ६० वर्षका हिबातुल्लाहले जीवनको धेरै समय अफगानिस्तानमै बिताएका छन्। हिबातुल्लाहको नामको अर्थ हुन्छ, ‘अल्लाहको तर्फबाट प्राप्त उपहार।’ उनी नुरजाई समुदायबाट आएका हुन्।