logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काबुल बिस्फोटनको जिम्मा आईएसले लियो, अमेरिका भन्छ : खोजी-खोजी दण्ड दिनेछौं


अंकुरण खबर
910
Shares

बिहीबार साँझ अफगातिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोटन हुँदा हालसम्म ६० जनाको मृत्यु भएको छ भने १४० व्यक्ति घाइते भएका छन्।

बीबीसीका अनुसार मृत्यु हुनेमा १३ अमेरिकी सेना पनि रहेका छन्। सन् २०११ पनि अमेरिकी सैनिकमाथि यो नै सबैभन्दा ठूलो आक्रमण भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ।

यो घटनापछि रुष्ट अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘यो आक्रमणको पछाडि जसको संलग्नता छ त्यसलाई हामी खोजेरै छाड्नेछौं र सजाय दिनेछौं। हामी उनीहरुलाई भुल्नेछैनौं र माफ गर्नेछैनौं। आतंकवादीले हामीलाई हाम्रो काम गर्नबाट रोक्न सक्नेछैनन्। हामी काबुलमा आफ्नो मिसन जारी राख्नेछौं र मानिसहरुलाई सुरक्षित रुपमा आफगानिस्तानबाट बाहिर निकाल्नेछौं।’

यो घटनाको जिम्मा अहिले अतिवादी जिहादी समूह आईएसले लिएको छ। उनीहरुले टेलिग्राममार्फत् काबुलमा भएको आत्मघाती हमलाको जिम्मा लिएका हुन्। अमेरिकी रक्षा विभागले पनि यो घटनामा आईएसको हात भएको आशंका गरेको थियो। काबुल विमानस्थलबाट हजारौं मानिस दैनिक अफगानिस्तान छाडिरहेको समयमा त्यहीँनेर विस्फोटन हुँदा विश्वभर हलचल मच्चिएको छ।

यसअघि एक दिन अगाडि मात्र काबुल विमानस्थलमा आक्रमण हुन सक्नेभन्दै बेलायत र अमेरिकाले आफ्ना नागरिकलाई विमानस्थल वरपर नजान चेतावनी जारी गरेको थियो।