logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वडा अधिवेशनको लागि कांग्रेसले ३८ जिल्लामा खटायो निर्वाचन अधिकृत


अंकुरण खबर
871
Shares

नेपाली कांग्रेसले यही भदौ १८ गते संचालन गर्ने वडा अधिवेशनको लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार निर्वाचन अधिकृतहरू शुक्रबारदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्।

यस्तै यादवका अनुसार ३८ जिल्लाको क्रियाशील सदस्यको सूची पनि सार्वजनिक गरिएको छ। पार्टीको वेबसाइटमा गएर सार्वजनिक भएका नामावली हेर्न सकिनेछ। क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएका जिल्लामा निर्वाचन अधिकृत खटाइएका हुन्।

कांग्रेसले अधिकांश ठाउँमा कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृत बनाएको छ भने केही ठाउँमा प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिइएको छ। अब बाँकी ३९ जिल्लाको क्रियाशील सूची पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

कांग्रेसका जिल्ला सभापतिहरू र युवा नेताले क्रियाशील विवरण सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा गत बुधबारदेखि रिले अनसन गर्दै आएका थिए। कांग्रेसले १४ औं महाधिवेशनका लागि यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य बनाएको छ जसमध्ये करिब ५० हजार विदेशस्थित जनसम्पर्क समितिका छन्।