logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’का लागि परीक्षा सुरु हुँदै


अंकुरण खबर
1.131K
Shares

कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ को लिखित तथा प्रयोगात्मक ‘ट्रायल’ परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ।

विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालले आवेदन दिएकाहरूले अबको १० देखि १५ दिनमा परीक्षा दिन पाउने जानकारी दिएका छन्। उनले भनेका छन्, ‘पछिल्लो परिस्थिति हेर्दा हामी ‘न्यू नर्मल’ मा बाँच्नुपर्ने स्थिति आयो। त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड स्वीकृत गरेर सबै यातायात कार्यालयहरूलाई यथाशीघ्र परीक्षा सुरु गर्न र त्यसको सात दिनअघि नै सूचना जारी गर्न बिहीबार पत्राचार गरेका छौँ।’

पछिल्लो पटक काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेका कारण गत वैशाख १६ गतेबाट लाइसेन्स प्राप्त गर्नका लागि सञ्चालन गरिने परीक्षा हुन पाएको छैन। त्यस बेलादेखि नै नयाँ आवेदन भर्न पनि बन्द गरिएको थियो।

अहिले लगभग छ लाख जनाले लाइसेन्स प्राप्त गर्नका लागि परीक्षा दिने प्रक्रियामै रहेको भुसालले जानकारी दिए। देशभरिका २१ वटा यातायात कार्यालयबाट छ लाखको परीक्षा सञ्चालन गर्नका लागि चारदेखि पाँच महिना लाग्न सक्ने विभागको अनुमान छ।
झन्डै छ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम रहेको अधिकारीहरू बताउँछन्।

लामो समयदेखि प्रतीक्षारत सर्वसाधारणहरूले परीक्षा दिन पाए पनि तत्काल स्मार्ट लाइसेन्स प्राप्त गरिहाल्ने अवस्था भने देखिँदैन। विभागले लगभग सात लाख सेवाग्राहीलाई स्मार्ट लाइसेन्स दिन नसकिएको जनाएको छ।