अफगानिस्तानको राजधानी काबुलमा रोकिएका ४२ नेपालीहरुलाई भारतीय सैन्य विमानबाट उद्धार गरिने भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार यतिबेला ४२ जना नेपालीहरु काबुलको विमानस्थल नजिकै उद्धारको पर्खाइमा छन्। गत बिहीबार साँझको विस्फोटको घटनापछि उनीहरु विमानस्थलबाट १३ किलोमिटर टाढाको क्षेत्रमा गएर बसेको बताइएको छ।
परराष्ट्रका अनुसार दिल्लीस्थित नेपाली दूतावासले ती नेपालीलाई उद्दार गर्न भारत र अमेरिका सरकारसँग समन्वय गरिरहेको छ। परराष्ट्रले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सबै नेपाली सुरक्षित अवस्थामा रहेको र सबैसँग नियमित सम्पर्क भइरहेको जनाएको छ।
हाल त्यहाँका शिख समुदायले संचालन गरेको निशुल्क खाने र बस्ने ठाउँमा नेपाली र भारतीयहरु बसिरहेका छन्। भारतीय एयरफोर्सको बिमानबाट रोकिएका ती ४२ जना नेपालीलाई उद्दार गर्न कूटनीतिक प्रयास भैरहेको जनाइएको छ।
हालै काबुल बिमास्थल अगाडि विस्फोटन हुँदा १७० भन्दा बढी नागरिकको ज्यान गएको छ। मृतकमध्ये १३ अमेरिकी सेना पनि रहेका छन्। सो घटनाको जिम्मा आईएस–के समूहले लिएको थियो। अमेरिकाले शनिबार मात्र आफ्नो ड्रोन आक्रमणमा सो घटनाका योजनाकार मारिएको दाबी गरेको छ।
अफगानिस्तान तालिबानको कब्जामा गएपछि यतिबेला अफगानिस्तानबाट विदेशी नागरिकहरु घर फर्किरहेका छन्।