logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौन छन् अफगान संगीत विद्यालय, त्रसित छन् संगीतकर्मी


अंकुरण खबर
1.339K
Shares

सत्ता कब्जापछि संगीतमा प्रतिबन्ध लगाउने तालिवानको घोषणासँगै अफगानिस्तान नेसनल इन्स्टिच्युट अफ म्युजिक (एएआइएम) का गुरु र शिष्य यतिबेला गहिरो चिन्तामा छन्। अहिले देशका अधिकांश संगीत विद्यालय ठप्प छन् भने संगीतप्रेमी विद्यार्थी मौन छन्।

‘संगीतका प्रायः सबै विद्यार्थी त्रसित छन्। विद्यालय फर्किदा आफूमाथि कुनै पनि बेला हमला हुन सक्ने उनीहरुको चिन्ता छ,’ सो संस्थाका सस्थापक तथा निर्देशक डा. अहमद सरमास्ट भन्छन्।

दुई साताअघि तालिवान काबुल झर्नेवित्तिकै विद्यार्थीले आफ्ना संगीत सृजनाका सामग्री विद्यालयलाई फिर्ता गरिदिए। केहीले अब विद्यालय कहिल्यै आउन नसक्ने भन्दै खिन्न अनुहार बनाएर घर फर्किए । आफूहरुमाथि तालिवानले भौतिक आक्रमणको चेतावनी दिएपछि अधिकांशले आफ्नो संगीत यात्रालाई नै पूर्णविराम लगाइदिएका छन्।

डा. सरमास्टको नेतृत्वमा राजधानी काबुलको संगीत विद्यालयले संगीतको क्षेत्रमा उल्लेख्य प्रगति गरेको थियो। सन् १९६६ देखि २००१ मा तालिवानको कठोर प्रतिबन्धपछि पहिलो पटक संगीतलाई कक्षा कोठामा फर्र्काउने श्रेय उनलाई नै जान्छ।

एउटै कोठामा महिला र पुरुषलाई संगीत सिकाउने एएआईएम अफगानिस्तानकै अग्रणी संस्था हो। त्यहाँ अफगान र पश्चिमा संगीत पढाइन्थ्यो। टुहुरा बालबालिकालाई पनिनिःशुल्क शिक्षा दिइन्थ्यो।

सो इन्स्टिच्युट अफगानिस्तानको पहिलो महिला रक ब्यान्ड जोराको घर नै मानिन्छ। सो व्याण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा धेरै स्रोताहरुमाझ आफ्नो प्रस्तुति दिएको छ । सबैलाई समानता र शिक्षा प्रदान गर्दै आएको एएआईएम अफगानिस्तानको नयाँ पहिचानको बिम्ब बनेको थियो।

तर, अहिले इतिहास दोहोरिएको छ। अफगानिस्तान पुनः तालिवानको नियन्त्रणमा छ। विद्यालय र यहाँका संगीतकारको भविष्य अनिश्चित छ। ‘अहिले हाम्रा सपना, आशा र भविष्य छियाछिया भएको छ,’ डा. सरमास्ट भन्छन्।

हाल अस्ट्रेलियाको मेलर्बनमा रहेका डा. सरमास्ट भन्छन्। दुई साताअघि तालिवानले काबुलमा हमला गर्दा उनलाई लागेको थियो, अब एएआइएममाथि पनि हमला हुन्छ।

तालिवानले सो सस्थामा आक्रमण त गरेनन तर सधैका लागि बन्द गर्न चेतावनी दिए। तालिवानको चेतावनीपछि अहिले सो संस्थाका विद्यार्थी निकै चिन्तित छन। ‘अहिले विद्यार्थी भविष्यप्रति मात्र होइन आफ्नो जीवनप्रति नै चिन्तित छन्,’ डा. सरमास्ट भन्छन्, ‘उनीहरु अफगानिस्तानमा असुरक्षित छन्।’

तालिवानले अहिले डा. सारमस्टको खोजी गरिरहेका छन्।

विद्यालय बन्दको दबाब दिन काबुलस्थित उनको डेरामा पटकपटक तालिवान पुगेका छन्। तालिवानले सत्ता कब्जा गरेसँगै देशका विभिन्न स्थानमा बालिका शिक्षा र संगीतमा प्रतिबन्ध लगाउन सुरु भइसकेको छ।

एक साताअघिमा तालिवान प्रवकत्ताले तालिवानको सत्तामा संगीतमा प्रतिबन्ध लगाइने संकेत गरिसकेका थिए। एजेन्सी