धादिङको नीलकण्ठ नगरपालिका ८ बगैँचामा आइसर ट्रक दुर्घटना हुँदा बीस जना घाइते भएका छन् ।
ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेसी तर्फ जाँदै गरेको बा ३ ख ५६२३ नम्बरको आइसर ट्रक सोमबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो ।
गम्भीर घाइते मध्ये चार जनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ । ज्वालामुखी ५ खरीका बलराम अधिकारी, संगिता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
घाइते मध्ये अन्य चार जनालाई सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।