logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता, अमेरिकी इतिहासकै लामो युद्ध अन्त्य


अंकुरण खबर
1.43K
Shares

अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ।

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट झण्डै २० वर्षपछि आफ्नो सम्पूर्ण फौज फिर्ता गरी दुई दशक लामो अफगान युद्ध समाप्त गरेको हो ।

द न्यूयोर्क टाइम्सका अनुसार सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल छोडेसँगै सन् २००१ देखि अफगानिस्तानमा सुरू भएको अमेरिकी उपस्थिति अन्त्य भएको हो। योसँगै दुई दशकपछि सत्तामा तालिबानको पुनरागमन भएको छ ।

यूएस सेन्ट्रल कमान्डका प्रमुख जनरल केनेथ मकेन्जीले अमेरिकाले फिर्ता हुने कार्य पूरा गरेको पुष्टि गरेका छन् । हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टी विमान उडेसँगै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको बताए ।

उनका अनुसार दुई दशक लामो अफगानिस्तान बसाइमा अमेरिकाले दुई हजार चारसय  अमेरिकीले ज्यान गुमाएका छन् । गत बिहीबार भएको आत्मघाती विस्फोटमा परी १३ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

तालिबानसँग भएको सहमति अनुसार अगस्ट ३१ को समयसीमाभित्रै अमेरिकी फौज फिर्ता भएको हो । तालिबानले अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो । त्यसयताका दुई हप्तामा अमेरिका र उसका साझेदार राष्ट्रले १ लाख २३ हजार भन्दा बढी सर्वसाधारणको उद्धार गरेका छन् । एजेन्सी