प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।
केहीबेर अघिबाट सुरु भएको बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको छ । बालुवाटार निकट स्रोतका अनुसार आज मन्त्रीहरूको नामावली टुंगो लगाउने तयारी भइरहेको छ ।
सरकार गठनका सन्दर्भमा हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए । तर, सहमति हुन सकेको थिएन ।
केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
आजको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित प्रधानमन्त्री देउवाको उपस्थिति रहेको छ ।
लामो समयदेखि मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुँदै आइरहेको छ ।