अफगानिस्तानबाट अमेरिकी सेनाहरु स्वदेश फर्किएसँगै तालिबानले अमेरिकाको हार अन्य आक्रमणकारीहरुका लागि शिक्षा भएको बताएको छ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुलबाट अन्तिम अमेरिकी विमान फर्किएपछि भनेका छन्,‘यो विश्वकै लागि एउटा पाठ हो।’
काबुलस्थित हामदि करजई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम अमेरिकी विमान उडेपछि यतिबेला तालिबानले विमानस्थल पनि नियन्त्रणमा लिएको छ। अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबानी लडाकुले बन्दुक पड्काउँदै खुशी मनाइरहेका छन्।
तालिबानसँगको संघर्ष अमेरिकाको सबैभन्दा लामो युद्ध मानिन्छ। सन् २००१ देखि यसवर्ष अर्थात २० वर्षको मिसन सकेर अमेरिकी सेनाहरु स्वदेश फर्किएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। योसँगै अब अमेरिकी महाशक्तिको छवि पहिलेजस्तो रहनेछैन।
तालिबानका प्रवक्ताले यो मौकामा भनेका छन्,‘अफगानिस्तानलाई बधाई छ। यो जित हामी सबैको हो। हामी अमेरिका र विश्वसँगै राम्रो सम्बन्ध राख्न चाहन्छौं र राम्रो कूटनीतिक सम्बन्ध चाहन्छौं।’ बीबीसी