राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।
यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो। तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो।
अब हुने परीक्षा होम सेन्टरबाटै सञ्चालन हुने बोर्डले जनाएको छ।
संगीत, ललितकला र संस्कृत विषय समूह समेत तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।
