प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा. गणेश रेग्मीले बुधबार रिट दर्ता गरेका हुन ।
संवैधानिक परिषद् सम्बन्धि अध्यादेश र त्यसका आधारमा नियुक्तिसम्बन्धि मुद्दाको सुनुवाईबाट प्रधानन्यायाधीश अलग हुने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको हो । रिट दायर गर्ने डा. रेग्मी नेपाल प्रहरीका पूर्व एसएसपी हुन ।
संविधानअनुसार संवैधानिक इलजाशमा प्रधानन्यायाधीशकै नेतृत्वमा हुनुपर्नेमा संविधानविपरितको निर्णय भएको भन्दै उनले रिट दायर गरेका हुन् । रिटमा सर्वोच्च अदालत, प्रधानन्यायाधीश, न्याय परिषद् र नेपाल कानून व्यवसायी परिषद्लाई विपक्षी बनाइएको छ ।
संवैधानिक परिषद्को बैठकमा सहभागी भएर आफैं नियुक्तिको सिफारिस गर्ने र त्यसविरुद्ध परेको रिटको आफैं फैसला गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरित भएको भन्दै कानुन व्यवसायी तथा पूर्व न्यायाधीशले आलोचना गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले त्यससम्बन्धि सुनुवाईमा नबस्ने निर्णय गरेका थिए।