निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्ने समय नजिकिँदै गर्दा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा लाग्नेहरू धमाधम निर्वाचन आयोगको कार्यालय जाँदै सनाखत गराउन थालेका छन्।
यसैबीच प्रदेश २ मा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा लागेका छन्। आज (बिहीबार) जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर उनीहरूले एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका छन्।
सांसदहरु शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले एकीकृत समाजवादीतर्फ आफ्नो सनाखत गराएका हुन्।
प्रदेश २ मा एमालेका २१ सांसद छन्। तीमध्ये १३ जनाले नेपाललाई सघाउँदै आएका छन्। ती सबै सांसद एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ। दिल्ली उप्रेती उपचारका क्रममा भारतमा रहेकाले दूतावासमार्फत आफ्नो सनाखत गराउने एक सांसदले बताए।
सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले पनि शुक्रबार सनाखत गर्ने ती सांसदले दाबी गरे। तथापि उनीहरू वीरगन्जमा बिहीबार आयोजित एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएका छन्।