logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि कांग्रेसको अधिवेशन सुरु हुँदै


अंकुरण खबर
663
Shares

नेपाली कांग्रेसले १४औँ महाधिवेशनको औपचारिक सुरुवात आज (शुक्रबार) देखि गर्दैछ।

साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशन गाउँ, नगर वडा अधिवेशन आजबाट सुरु हुने भएको हो। वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ।

केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। क्रियाशील सदस्यताको विवरण टुंगो लागेका ५६ जिल्लामा समयमै गाउँ र नगर अधिवेशन सुरु गर्न केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन गरेको छ।

कतिपय गाउँ र नगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। क्रियाशील सदस्यता टुंगो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुने शर्माको भनाइ छ।

अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको छैन। विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन।

वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ। क्रियाशील सदस्यता विवरण सार्वजनिक नभएका र अन्य व्यवस्थापन बाँकी जिल्लामा यही भदौ २३ भित्रै अधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ।

क्रियाशील सदस्यता विवादकै कारण कांग्रेसले यसअघि तीन पटकसम्म केन्द्रीय महाधिवेशन नै स्थगित गरेको थियो।