logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीजमा पशुपतिनाथ मन्दिर खुल्ने


अंकुरण खबर
949
Shares

पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । तीजको आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको हो।

मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड तीज आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने छ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन् । पशुपतिसँगै यी मन्दिर पनि खुला गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए । यसपटक पाँच महिनापछि पशुपतिनाथलगायत यस क्षेत्रका मन्दिर भक्तजनका लागि खुला गर्न लागिएको हो ।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको कोषले जनाएको छ। मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ । भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ ।