अमेरिकाको न्युयोर्कमा आएको बाढीका कारण तीन नेपालीको मृत्यु भएको छ ।
ज्यान गुमाउनेहरु एकै परिवारका सदस्य हुन्। न्यूयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रिटमा रहेको घरमा उनीहरु मृत फेला परेका एनआरएनए न्युयोर्क च्याप्टरले जनाएको छ ।
ज्यान गुमाउनेमा २० वर्षीया मिङ्मा शेर्पा, ४९ वर्षीय आङगेलु लामा र १९ महिने बालक लोप्साङ लामा रहेका छन् । नेपालमा उनीहरुको घर सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ मा पर्दछ ।
उनीहरु बस्दै आएको वुडसाइडस्थित बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो ।
मिङ्माले आत्तिएर पानी पसिरहेको बताउँदा तेश्रो तल्लामा बस्ने महिलाले आफू बसेको तेश्रो तल्लामा आउन भनेकी थिइन् । उनीहरुको कोठामा झ्यालबाट पानी पसेको थियो । प्रहरी घटनास्थलमा पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए ।