पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रबार चीनको तारिफ गर्दै ‘विकासोन्मुख राष्ट्रको गरिबी हटाउने विषयमा चीन प्रेरणाको स्रोत’ भएको बताएका छन्।
खानका अनुसार पछिल्लो चार दशकमा चीनले गरेको प्रगतिका कारण ८० करोड मानिसहरु गरिबीको रेखा मुनीबाट माथि उठेका छन्। केही महिना अगाडि मात्र चीनले आफ्ना देशका अधिकाँश नागरिक गरिबीको रेखा मुनीबाट उक्सिएको घोषणा गरेको थियो।
इमरान खान अगाडि मात्र तालिबानले पनि चीनको प्रशंसा गरेको थियो। तालिबानका अनुसार चीन अफगानिस्तानको सबैभन्दा महत्वपूर्ण साझेदार हो र चीनको सहयोगले अफगानिस्तानको पुनः निर्माण हुनेछ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले चीनको बीआरआई अवधारणालाई अफगानिस्तानमा स्वागत गर्ने र चिनियाँ अवधारणाको आफूहरुले सम्मान गर्ने बताएका थिए। चीनले बीआरआई अवधारण विश्वका गरिब राष्ट्रलाई आत्मनिर्भर बनाउने सिद्धान्त भएको बताउँदै आएको छ।
पाकिस्तानमा बीआरआई अन्तर्गतका कामहरु सुरुवात भइसकेका छन्। चीनले पाकिस्तानको विद्युत तथा अन्य पूर्वाधारहरु निर्माण गर्न सहयोग गरिरहेको छ।
तर पश्चिमा राष्ट्रहरुले भने बीआरआईलाई ऋणको चंगुलको रुपमा व्याख्या गर्ने गरेका छन्। बीबीसी