logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सङ्खुवासभामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते


अंकुरण खबर
832
Shares

सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्।

अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पु¥याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नंको मिनीट्रक चिचिला–१ पात्लेमा गए राति दुर्घटना हुँदा चालक धनकुटा महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको  घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार  घाइते भएका १० मजदुरमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेहरुमा खाँदबारी नगरपालिका–७ का २९ वर्षीय बब्लु मगर, भारतका आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रनाउ सुवेदीले जानकारी दिए।

चालक पाण्डेको शव ट्रकले किचेको अवस्थामा आज बिहान निकालेर परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदैछ। घाइते १० मध्ये आठ  जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन्। घाइते हुने  भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार छन्।

दुर्घटनामा  खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन्।