सरकारले मित्रराष्ट्रहरूविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनप्रति आपत्ति जनाउँदै मित्रराष्ट्रहरूविरुद्ध गतिविधि गरे कारबाहीको चेतावनी दिएको हो।
पुतला दहनको घटनाले मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गतिविधि भएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ।
‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुतला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।’
गत शुक्रबार एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले भारतीय हस्तक्षेपविरुद्धको प्रदर्शन भन्दै प्रदर्शनी मार्गमा मोदीको पुतला दहन गरेका थिए।
