logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज भाद्रकृष्ण औँसी : दिवङ्गत पितृका नाममा श्राद्ध गरी मनाइदै, बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म भने भोलि


अंकुरण खबर
845
Shares

भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज गरिदैछ ।

अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले आज बिहान ६ः५६ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी भएकाले अपराह्नकालमा औँसी तिथि परेको बताए । तर बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म भने भोलि मंगलबार मात्र गर्नुपर्ने उनले बताए ।

सूर्योदयमा औँसी भएका दिन स्नान, दान आदि कर्म गर्ने, हलो बार्ने, बाबुको मुख हेर्ने आदि पर्व मनाउनुपर्ने शास्त्रीय विधिका आधारमा यी कर्म भदौ २२ गते मंगलबार गर्नुपर्ने समितिले स्वीकृति दिएको पञ्चाङ्गमा उल्लेख छ ।

मघा नक्षत्र भएकाले आज श्राद्ध गर्न नहुने धर्मशास्त्रविद् गौतमले जानकारी दिए । मघा नक्षत्र भएका दिन श्राद्ध गरेमा जेठो छोरा नाश हुने शास्त्रीय वचन छ । सन्तान नहुनेले भने आज श्राद्ध गर्छन् ।

मघामा पिण्ड नदिई गरिने श्राद्ध भने आज गरिन्छ । तीर्थमा गरिने श्राद्ध मघा नक्षत्र परे पनि गर्नुहुन्छ भन्ने मान्यता राख्नेहरू आज बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पुगेका छन् । तर यस वर्षको गोकर्णेश्वर मेला भने कोभिड १९ का कारण स्थगित गरिएको छ ।