अन्ततः पुरै अफगानिस्तान आफ्नो कब्जामा आएको तालिबानले बताएको छ। हालसम्म पन्जसिर उपत्यका मात्र तालिबानको हातमा जान सकेको थिएन।
सोमबार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक बयान सार्वजनिक गर्दै पन्जसिर पनि आफ्नो हातमा आएको बताएका हुन्।
पन्जसिरका लडाकु एनआरएफको नियन्त्रणमा रहेको अन्तिम गढ पनि आफ्नो नियन्त्रणमा आएसँगै पन्जसिर आफ्नो कब्जामा आएको मुजाहिदको भनाइ छ।
आइतबार मात्र पन्जसिरका एनआरएफ लडाकुका नाइके अहमद मसुदले तालिबानले आक्रमण बन्द गरे शान्तिवार्ता गर्ने बताएका थिए। त्यो अभिव्यक्तिको केही समयमै तालिबानले पन्जसिर पनि आफ्नो हातमा आएको बताएको हो।
तालिबान अगाडि एनआरएफ लडाकु कमजोर भएपछि मसुदले वार्ताको प्रयास थालेको बताइन्छ। यद्यपी एनआरएफ लडाकुले तालिबानको दाबी अस्वीकार गरेको छ। एनआरएफका प्रवक्ता अलि मैसमले बीबीसीसँग भनेका छन्,‘यो सत्य होइन, तालिबानले पन्जसिर नियन्त्रणमा लिएको छैन। म उनीहरुको दाबी अस्वीकार गर्छु।’
तर सामाजिक संजालमा सार्वजनिक भएको तस्बिरहरुमा तालिबानका लडाकु प्रान्तीय गर्भनरको कार्यालय अगाडि देखिएका छन्।

पन्जसिर उपत्यका
पन्जसिर उपत्यका कहिल्यै तालिबानको नियन्त्रणमा गएको छैन र यहाँ रुसी सेना पनि प्रवेश गर्न असफल भएका थिए। त्यहाँका लडाकुले ज्यान गए माग पुरा नभएसम्म युद्ध जारी राख्ने वाचा गरेको दोहोर्याउँदै आएका छन्।
तालिबानले महिलालाई कमै मात्र अधिकार दिएको छ तर एनआरएफ महिला पुरुष बराबर सिद्धान्तमा केन्द्रित भएको समूह हो। यस्तै पन्जसिरका बहुसंख्यक नागरिक जातीय हिसाबमा ताजिक हुन् भने तालिबानहरु पास्तुन समुदायका हुन्।
जसका कारण एनआरएफले सत्तामा समावेशी साझेदारीको माग गरेको हो। माग पुरा नभएर लडाइँ हुने र आफू त्यसको लागि तयार भएको एनआरएफको भनाइ छ। पछिल्लो समय केही छलफलहरु भएता पनि त्यहाँ सहमति हुन सकेको छैन। जसका कारण दुवै पक्ष युद्धमै होमिएका हुन्। एजेन्सी