नक्कली शैक्षिक प्रमाणपत्रसहित ६ जना पक्राउ परेका छन् ।
यूएस डाइभर्सिटी भिसा (ईडिभी) २०२० को भिसा प्रकृयाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३ महाराजगञ्जस्थित अमेरिकन राजदूतावास र काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ कुलेश्वर बस्ने पाल्पा तानसेन नगरपालिका ३ का ३५ वर्षीय सुमित रत्न गुभाजु, ललितपुर महानगरपालिका १४ सातदोबाटो बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका ६ घर भएका ३५ वर्षीय अमरबहादुर कटुवाल, कास्की पोखरा महानगरपालिका ५ मालेपाटन बस्ने नवलपरासी गैंडाकोट नगरपालिका ३ बल्डिया घर भएका ३० वर्षीय नरेश केसी, काठमाडौं महानगरपालिका २९ रानीबारी बस्ने नवलपरासी देवचुली १७ घर भएका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रे बनेपा नगरपालिका १० जनगाल घर भएका ३३ वर्षीय दिप विष्ट र काठमाडौं महानगरपालिका १२ टेकु बस्ने २३ वर्षीय सोहिली शाही रहेको नेपाल प्रहरी केन्द्रीय सूचना कक्षले जानकारी दिएको छ ।
नेपालस्थित अमेरिकन दुतावासमा इडिभी २०२० को नतिजामा नाम निकालेका तर भिसा प्रकृयाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०ं२ को नक्कली ट्रान्सक्रिप्ट बानाई पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकन दुतावाससँगको समन्वयमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई बिभिन्न शैक्षिक प्रमाणपत्र नक्कली ट्रान्सक्रिप्टसहित पक्राउ गरेको हो ।
साथै शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै पक्राउ परेका व्यक्ति उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।