logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै परिवारका ६ जनाको हत्या अनुसन्धानमा सीआईबीको टोली


अंकुरण खबर
1.04K
Shares

संखुवासभा मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्याकाण्ड अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले डीएसपीको कमान्डमा टोली खटाएको छ ।

डीएसपी रुगम कुँवरको कमान्डमा तीन सदस्यीय टोली सीआईबीले मंगलबार संखुवासभा पठाएको हो ।

जिल्ला प्रहरी संखुवासभा र विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले पनि हत्याकाण्ड अनुसन्धानका लागि टोली खटाएका छन् । सीआईबीको टोलीले स्थानीय प्रहरीलाई अनुसन्धानका लागि सहयोग गर्नेछ ।

सीआईबीको टोलीले घटना भएका बेला घटनास्थल आसपासमा सक्रिय रहेका मोबाइलको लोकेसनलगायत अभियुक्त पत्ता लगाउन प्राविधिक पक्षमा स्थानीय प्रहरीलाई सहयोग गर्नेछ ।

गत सोमबार धारिलो हतियार प्रयोग गरी एकै परिवारका ६ जनाको हत्या भएको थियो । तीमध्ये एकजनाको शव घरमा, एकजनाको सडकमा, दुईजनाको बारीको कान्लामा र दुईजनाको शव नजिककै खोल्सीमा फेला परेको थियो ।

८४ वर्षीया पार्वती कार्की, उनका ५२ वर्षीय  छोरा तेजबहादुर, तेजबहादुरकी श्रीमती कमला, ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षका दीपेन कार्की र सात वर्षकी गोमा कार्कीको हत्या भएको थियो ।

घटनामा ८५ वर्षीय बौद्धमान कार्की भने हत्याराको नजरबाट बचेका थिए । उनले घटनाबारे थाहा नपाएको प्रहरीलाई बयान दिएका छन् ।