logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टकराब बढिरहेको बेला सात महिनामा पहिलोपटक सी र बाइडेनबीच छलफल


अंकुरण खबर
962
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच सात महिनामा पहिलोपटक कुराकानी भएको छ। अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार बाइडेन र सीबीच टेलिफोन वार्ता भएको हो।

ह्वाइट हाउसले एक व्यक्तव्यमा भनेको छ,‘व्यापक रणनीतिक विषयमा चर्चा भएको छ। ती विषयहरुमा कुराकानी भएको छ जहाँ हामीलाई फाइदा हुन्छ।’

बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि उनले दोस्रोपटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्। ह्वाइट हाउसले यस विषयमा भनेको छ,‘राष्ट्रपति बाइडेनले स्पष्ट रुपमा भनेका छन् कि यो छलफल अमेरिका र चीनबीच चलिरहेको प्रतिस्पर्धालाई जिम्मेवार ढंगले सम्हाल्ने प्रयासको एक हिस्सा हो।’

‘दुवै नेताले आफ्नो जिम्मेवारीको विषयमा छलफल गरे। प्रतिस्पर्धा संघर्षमा नबद्लियो भनेर सुनिश्चत गर्ने विषयमा कुराकानी भयो’ वक्तव्यमा उल्लेख गरिएको छ।

यसवर्षको सुरुवातमा अमेरिका र चिनियाँ अधिकारीबीच भएको छलफल निकै तनावग्रस्त बनेको थियो। दुवै देशका अधिकारीहरु आरोप–प्रत्यारोपमा उत्रिएका थिए।

चिनियाँ अधिकारीहरुले अमेरिकाले अन्य देशहरुलाई चीनविरुद्ध उत्रन उकासेको आरोप लगाएको थियो भने अमेरिकाले चीनले आफूलाई चर्चामा ल्याइरहन त्यस्तो बताएको जनाएको थियो।

अमेरिका चीनबीचको विवाद

अमेरिका र चीनबीच हाल विभिन्न विषयमा विवाद छ। अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ भने उनीहरुबीच प्रविधि र भूराजनीतिक खटपट छ।

सन् २०१८ यता अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ। चीनले व्यापारका नीतिहरु उल्लंघन गरेको अमेरिका बताउँछ। साथै अमेरिकाले चीनले बौद्धिक चोरी गरेर प्रविधिको क्षेत्रमा फड्को मारेको बताउँछ। अमेरिकाका अनुसार चीनले उसका प्रविधि जासुसी गर्न पनि प्रयोग गर्दछ।

यस्तै हङकङको स्वतन्त्रता, ताइवानको अखण्डता, उइगर मुसलमान, दक्षिण चीन सागर लगायका विषयमा पनि चीन र अमेरिकाबीच टकराव छ। बीबीसीको सहयोगमा