शिक्षा

चितवनमा असोज १ गतेबाट स्कुल-कलेज खुल्ने

चितवन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।

कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए।

उनले भने, “एउटा कक्षामा २५ विद्यार्थी सहभागी बनाइ अध्ययन अध्यापन सुरु गर्ने तयारीमा छौ।” एउटा बेन्चमा दुई जना राख्ने गरी व्यवस्था गरिएको उनको भनाइ थियो।

स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाइको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो। विद्यालय सञ्चालन गर्दा प्रर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उनले जानकारी दिए।

उनले भने, “विद्यार्थीले माक्स र फेस सिल्ड आफैले व्यवस्था गर्नुपर्ने हुन्छ।”

भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बुद्धे मापदण्ड तयार गरिएको छ।

मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जनाइएको छ।

एक एक हप्ताको फरकमा अवस्था हेरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागिएको हो।

विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरी आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने उनले जानकारी दिए।

एउटा कक्षा-सिफ्ट-समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ।

Comment here