मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले मौसम बदली हुने महाशाखाले जनाएको छ।
सोमबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
यस्तै, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षाका कारण उक्त स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ।