Breaking Newsअर्थ

दसैंका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न सकिने

नेपालीहरूको महान पर्व दसैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याउने तयारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार सर्वसाधरणले आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट साट्न पाउनेछन् ।

बैंकहरूको मागका आधारमा दसैं आउनुभन्दा झण्डै एक महिनाअघि नै बजारमा नयाँ नोट पठाउने तयारी भएको हो ।

यो वर्षको दसैंका लागि राष्ट्र बैंकले ३ अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट पठाएको जानकारी दिएको छ । प्रतिव्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँसम्म साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

एक व्यक्तिले रु ५, १०, २०,५० र १०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न सक्नेछन् ।

नयाँ नोट साट्नका लागि काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सातवटै प्रदेशको प्रादेशिक कार्यालय र वाणिज्य बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

Comment here