पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।
बस र ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको उनले बताए ।
बसमा चालकसहित २६ जना सवार रहेको बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताए ।