Breaking Newsअन्तर्वार्ता

के हो डिम्बाशय क्यान्सर ? कसरी बच्ने ?

महिलाहरुमा देखिने डिम्बासयको क्यान्सर चिकित्सा विज्ञानमा ठूलो चुनौतीको रूपमा रहेको छ । धेरैलाई सुरुवाती चरणमा परीक्षण बिना लक्षण थाँहै नभई फैलिने भएकाले डिम्बासयको क्यान्सर जटिल मानिन्छ ।

डिम्बासयको क्यान्सर हुने कारण लक्षण र बच्ने उपायबारे अंकुरण खबरका लागि स्त्री क्यान्सर रोग विशेषज्ञ डा.सृष्टि श्रेष्ठ प्रजापतिसंग गरिएको कुराकानीमा आधारित अंश…

के हो डिम्बासयको क्यान्सर ?

पाठेघरको दुबै तर्फ हुने सानो अण्डा आकारको भागलाई डिम्बासय भनिन्छ । डिम्बासय महिलाको प्रजनन प्रणालीको महत्वपूर्ण अंग हो । यसले महिनावारी कायम रहुन्जेल हरेक महिना एउटा विकसित डिम्ब उत्पादन गर्छ । विभिन्न कारणले यही डिम्बासयमा अनियन्त्रित कोशिकाहरु वृद्धि भै ट्युमर देखिएमा यसलाई डिम्बासयको क्यान्सर भनिन्छ । महिलाहरुमा धेरै देखिने क्यान्सरमध्ये यो पनि एक घातक क्यान्सर हो ।

डिम्बासयको क्यान्सर के कारणले हुन्छ ?

चिकित्सा विज्ञानमा तिब्रतर विकास र अत्याधुनिक प्रविधिको निर्माण भए पनि अझै यो रोग लाग्ने र बच्ने ठोस कारण पत्ता लाग्न सकेको छैन् । यद्यपी अहिलेसम्मको अध्ययन अनुसन्धान हेर्दा निम्न कारणले यो रोग लाग्न सक्छ :

बंशाणुगत गुण (आमा,दिदी, बहिनी,सानीआमा आदिमा भए यो समस्या आउँने संभावना रहन्छ )।
सन्तान नजन्मिएका महिला ।
वातावरणीय प्रदूषण ।
पहिले स्तन क्यान्सर भएमा ।
महिनावारी रोकिएपछि हार्मोन प्रतिस्थापन थेरापी गर्दा ।
मोटोपन ।
अस्वस्थ खानपान ।
छिटो महिनावारी सुरु भई ढिलासम्म नरोकिने आदि कारणले यो क्यान्सर हुनसक्छ ।

डिम्बासयको क्यान्सर कुनै एक या दुबै डिम्बामा पनि हुन सक्छ ।

पहिले पहिले डिम्बासयको क्यान्सर महिनावारी सुकेका वा ४५,५० वर्ष कटेका महिलामा मात्र देखापर्छ भन्ने थियो । तर पछिल्ला वर्षहरुमा कम उमेरमै यो समस्या देखिने गरेको छ । र पनि ५० वर्षपार गरेका महिलामा यो क्यान्सरको समस्या धेरै हुन्छ ।

डिम्बासयको क्यान्सर हुँदा के कस्ता लक्षण देखिन्छन् ?

सामान्यतया डिम्बाशयको क्यान्सरमा सुरुवाती चरणमा लक्षण थाँहा नहुन सक्छ । सुरुमै सहजै लक्षण नदेखिने हुँदा क्यान्सर तेस्रो,चौथो चरणमा पुगिसकेपछि मात्र अधिकांश बिरामी अस्पताल पुग्ने गर्छन् ।

अधिकांशमा ग्यास्ट्रिकको जस्तो लक्षण देखिने ।
पेट फुल्ने, दुख्ने ।
पेटमा गाँठा भएजस्तो महशुस हुँने ।
थोरै खाना खाँदा पनि पेट डम्म भएजस्तो हुने । ।
कब्जियत हुने ।

छिटोछिटो पिसाब आउँने।
एकदमै कम महिलामा  महिनावारी अनियमितता हुने । यस्ता लक्षण देखिने सबैलाई डिम्बासयको क्यान्सरनै हुन्छ भन्ने हैन् । तर संभावना भने रहन्छ ।

डिम्बासयको क्यान्सर भए नभएको कसरी एकीन गर्ने ?

यसको निर्कोल गर्ने भनेकै परीक्षण हो । बिरामीको अवस्था हेरेर आवश्यक्ता अनुसार सिए 125 इन्डेक्स ,रेडियोलोजिकल जाँच, अल्ट्रासाउन्ड एक्सरे रगत जाँच आदि गरेर डिम्बाशय क्यान्सर भएको हो वा होइन पत्ता लगाउन सकिन्छ ।

के डिम्बासयको क्यान्सर पुरा निको हुन्छ ?

हो यो प्रश्न धेरैको छ । डिम्बासयको क्यान्सर  सुरुवाती चरणमै पत्ता लगाएर सही उपचार गरेको अवस्थामा पूर्ण निको हुन्छ । यद्यपी हाम्रो जस्तो मुलुकमा सुरुमा आउँनेको संख्या न्यून हुन्छ । त्यही भएर पूर्ण ठीक हुन गाह्रो हुन्छ ।

उपचार पद्धति कस्तो छ ?

डिम्बाशयको क्यान्सरलाई अवस्था हेरेर सल्यक्रिया या किमोथेरापीको माध्यमबाट उपचार गरिन्छ । त्यस पछि पनि निरन्तर चिकित्सकको सल्लाहा बमोजिम अगाडी बढ्नु पर्छ ।

के डिम्बासयको क्यान्सर भएकी महिलाले बच्चा जन्माउन सक्छिन् ?

बच्चा जन्माउन बिरामीको अवस्थाले निर्धारण गर्छ । सुरुमै थाँहा भएर उपचार गराए, एक डिम्बामा मात्र असर गरेको भए वा अन्य कुनै पनि जोखिम नरहे बच्चा जन्माउन मिल्छ । तर बिरामीलाई नै जोखिममा राखेर बच्चा जन्माउनु भने हुँदैन् ।

डिम्बासयको क्यान्सरबाट कसरी बच्ने ?
यस्तो सावधानी अप्नाएमा पूर्ण बच्न सकिन्छ भन्ने छैन् । तर परिवारमा अग्रज कसैलाई भएको छ भने सानो उमेरदेखिनै स्वास्थ परीक्षण गराउने । माथिका कुनै पनि लक्षण देखिए वा शंका लागेमा परीक्षण गराइहाल्ने । कम्तिमा वर्षको एक पटक डिम्बासयको परीक्षण गराउँनु पर्छ । तौल नियन्त्रणमा राख्ने । स्वस्थकर आहार,नियमित व्यायम, सक्रिय जीवन शैली अप्नाउनु पर्छ ।

 

Comment here