logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संखुवासभा हत्या प्रहरण : थप व्यक्ति पक्राउ नपरेको प्रहरीको स्पष्टोक्ति


अंकुरण खबर
936
Shares

संखुवासभाको मादी नगरपालिका १, खोलागाउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले बताएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले विज्ञप्ति प्रकाशित गर्दे घटनामा थप व्यक्ति पक्राउ गरेको भन्दै केही मिडियामा प्रकाशित समाचार गलत भएको र प्रहरीले अरू कोही पनि पक्राउ नगरेको बताएको हो ।

संखुवासभा प्रहरी प्रवक्ता इन्स्पेक्टर शुभेश अधिकारीले विज्ञप्तिमार्फत समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘प्रहरीले घटना भएको दिनबाटै घटनास्थलमा बसी अनुसन्धान गरिरहेको र हाल ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा खटिएको १० जना प्रहरी टोलीले सो घटना सम्बन्धमा खानतलासी, सोधपुछ, प्रमाण संकलन लगायतको कार्यहरु गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यस घटना सम्बन्धमा प्रहरीले थप कोही कसैलाई नियन्त्रणमा नलिएको कुरा सबैमा जानकारी गराईन्छ।’

प्रहरी निरीक्षक अधिकारीले अनुसन्धानको क्रममा केही व्यक्तिलाई सामान्य सोधपुछ गर्ने कुरा सामान्य भए पनि पक्राउ गरेको कुरा गलत भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।