प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरूद्ध अविश्वासको प्रस्ताव लैजान विपक्षी गठनबन्धनले तयारी गरेका छन् ।
विश्वासको मत लिनका लागि असोज ८ सम्मको समयसीमा दिँदै गठबन्धनले सो अवधिभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत नलिए अविश्वासको प्रस्ताव लैजाने तयारी गरेको हो ।
प्रदेश १ को प्रदेशसभा बैठक असोज २२ गतेका लागि आह्वान भएको छ, तर विपक्षी गठबन्धनले त्यो समय पनि नकुर्ने र ८ गतेभित्रै विश्वासको मत लिन दबाब दिएका छन् ।
अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्यले हालै मन्त्रिपरिषद विस्तार गरेपछि विपक्षी गठबन्धन थप सशंकित भएको छ । त्यसैले पनि विपक्षी दलहरुले अब एक साताभित्र मुख्यमन्त्रीले विश्वासको मत नलिएमा प्रदेशसभामा अविश्वास प्रस्ताव लैजाने योजना बनाएको बताइएको छ।
प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।
विपक्षी गठबन्धनमा रहेको नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ सांसद छन्, जो प्रदेशसभाको प्रष्ट बहुमत हो ।