प्रधानमन्त्री शेरबहादुर देउवाले यही असोजभित्र एक तिहाइ जनसंख्या र यस वर्षभित्र खोप लगाउन योग्य सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क व्यवस्था गर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा आज (आइतबार) टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यही असोज महिना भित्र एक तिहाइ र यस वर्ष भित्र खोप लगाउनयोग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गरिनेछ।’
वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड–१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नु रहेको उनले बताए।
अग्रस्थानमा खटिने राष्ट्रसेवकलगायत सबैलाई व्यक्तिगत स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र स्वास्थ्य सचेतना बढाउने कार्यक्रमहरु नेपाल सरकारले सञ्चालन गरिरहेको पनि उनले जानकारी दिए।
शताब्दीकै कहालीलाग्दो कोभिड–१९ को विश्वव्यापी महामारीबाट मानवजाति आक्रान्त बनेको र त्यसबाट नेपाली नागरिकलाई बचाउन सरकार पूर्ण रुपले प्रतिबद्ध एवं क्रियाशील रहेको उनको भनाइ थियो।
‘संविधान दिवस एक विशिष्ट राष्ट्रिय खुसीको दिन हो। यस अवसरमा पनि हामी खुला मनले अधिक सहभागिताबाट राष्ट्रिय उत्सव मनाउन सकेका छैनौं, किनकी कोभिड–१९ को महामारीबाट हामी सबै जोगिँदै यस्ता उत्सव मनाउनुपर्ने बाध्यता रहेको छ,’ उनले भने।
उनले महामारीको जोखिमलाई न्यूनीकरण गर्दै नागरिकको रक्षा गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउनेतर्फ सबै नेपाली अग्रसर हुने शक्ति र प्रेरणा सातौ संविधान दिवसले प्रदान गरोस् भनी शुभेच्छा पनि प्रकट गरे।
संविधान दिवसका सन्दर्भमा बोल्दै प्रधानमन्त्री देउवाले नेपालको संविधानले अमर सहिदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको उल्लेख गर्दै यस संविधानको सफल कार्यान्वयन गरी मुलुकको समद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने लक्ष्य सरकारको लक्ष्य रहेको बताए।
उनले नागरिकको लामो संघर्ष र बलिदानीबाट संविधानसभाद्वारा निर्मित संविधानको रक्षा र त्यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
सम्बोधनको पूर्णपाठ
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू,
राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू,
माननीय मन्त्रीगण,
सङ्घीय संसदका संसदीय समितिका माननीय सभापतिहरु,
संघीय संसदका माननिय सदस्यहरु
संवैधानिक निकायका पदाधिकारीहरु,
विशिष्ट अतिथिहरु,
राष्ट्रसेवक तथा सञ्चारकर्मी मित्रहरु,
संविधान राष्ट्रिय दिवसलाई खुशीपूर्वक मनाइरहनुभएका स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु,
१. नागरिक स्वतन्त्रता र मुलुकको समृद्धिका लागि दशकौंदेखि भएका जनआन्दोलन, सशस्त्र विद्रोह, मधेस आन्दोलन समेतको माध्यमबाट भएको अभूतपूर्व राजनैतिक परिवर्तनबाट प्राप्त संघीय, लोकतान्त्रिक गणतन्त्र, समावेशीता, मानव अधिकार एवं वैक्तिक स्वतन्त्रता जस्ता उपलब्धिहरुलाई संस्थागत गर्न जननिर्वाचित प्रतिनिधिबाट गठित संविधानसभाबाट निर्माण भएको नेपालको संविधान सातौं वर्षमा प्रवेश गरेको यस राष्ट्रिय दिवसमा उपस्थित हुँदा मलाई गौरवबोध भएको छ।
२. मुलुकको अग्रगामी परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात महान आदरणीय शहीदहरुप्रति यस अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यस्ता परिवर्तनका लागि भएका संघर्षहरुमा शारिरीक, भौतिक, आर्थिक, मनोवैज्ञानिक क्षति बेहोर्नुभएका एवं वेपत्ता नागरिकहरुलाई उच्च सम्मानपूर्वक स्मरण गर्दछु।
३. सात दशक लामो राजनीतिक आन्दोलनका क्रममा परिवर्तनका लागि अग्रपंक्तिमा रही नेतृत्व गर्नुहुने अग्रजहरु तथा समस्त परिवर्तनका पक्षधर नेपाली नागरिक प्रति उच्च सम्मान व्यक्त गर्दछु।
आदरणीय दाजुभाइ दिदीबहिनीहरु,
४. नेपालको संविधानले अमर सहिदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको छ। यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको सम्वृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने हाम्रो लक्ष्य हो।
५. विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान हो। त्यसैले संविधान दिवस एक विशिष्ट राष्ट्रिय खुशीको दिन हो। यस अवसरमा पनि हामी खुला मनले अधिकआधिक सहभागिताबाट राष्ट्रिय उत्सव मनाउन सकेका छैनौं किनकी कोभिड(१९ को महामारीबाट हामी सबै जोगिंदै यस्ता उत्सव मनाउनु पर्ने वाध्यता रहेको छ।
६. शताब्दीकै कहालीलाग्दो कोभिड–१९ को विश्वव्यापी महामारीबाट मानवजाति आक्रान्त बनेको छ। यसबाट नेपाली नागरिकलाई बचाउन सरकार पूर्णरुपले प्रतिवद्ध एवं क्रियाशील रहेको छ।
७. वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड–१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नु हो। यही असोज महिना भित्र एक तिहाई र यस वर्ष भित्र खोप लगाउनयोग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गरिनेछ। अग्रस्थानमा खटिने राष्ट्रसेवक लगायत सबैलाई व्यक्तिगत स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र स्वास्थ्य सचेतना बढाउने कार्यक्रमहरु नेपाल सरकारले सञ्चालन गरिरहेको छ।
आदरणीय दाजुभाइ दिदीबहिनीहरु,
नागरिकको लामो संघर्ष र बलिदानीबाट संविधानसभाबाट निर्मित संविधानको रक्षा र यसको कार्यान्वयनमा हामी प्रतिबद्ध छौं। राजनीतिक परिवर्तन प्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको छ। यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी समृद्धिको मार्गतर्फ हामी अघि बढ्नुपर्छ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमसंघीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उदेश्य हो । यस विषयमा निरन्तर ईमान्दारी पूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
८. सङ्घीयता कार्यान्वयनलाई समीक्षा गर्दै नागरिकका नजिकका सरकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी विभिन्न निकायको हस्तान्तरण गरिनेछ। साधनस्रोत र जनशक्तिको समूचित बाडफाँड गरिनेछ। संविधानको सफल कार्यान्वयनका लागि आवश्यक कानुन बनाइनेछन् । आपसी संवाद, सहमति र सहकार्य मार्फत गठबन्धन संस्कृतिको विकास गर्दै राष्ट्रिय हित, सामाजिक आर्थिक न्याय तथा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद प्रति प्रतिबद्ध हुँदै सङ्घीय शासन प्रणालीको माध्यमबाट न्यायपूर्ण, विभेद रहित सवल एवं समृद्ध नेपालको निर्माण गर्नु वर्तमान सरकारको प्राथमिकता हो।
आदरणीय दाजुभाई दिदीबहिनीहरु,
९. राजनीतिक प्रणालीलाई थप मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक छ। नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न हामी प्रतिबद्ध छौं।
१०. देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनताको जीउधनको सुरक्षा, सुशासन र पारदर्शीता स्वतन्त्र प्रेस प्रतिको हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।
११. अन्त्यमा महामारीको जोखिमलाई न्यूनीकरण गर्दै नागरिकको रक्षा गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउनेतर्फ हामी सबै नेपाली अग्रसर हुने शक्ति र प्रेरणा सातौ संविधान दिवसले हामी सबैलाई प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गर्दछ।
सातौ संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
जयनेपाल!
शेरबहादुर देउवा
प्रधानमन्त्री