logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सङ्खुवासभा हत्याकाण्ड : प्रहरीद्वारा स्थानीयमाथि थप अनुसन्धान सुरु


अंकुरण खबर
1.664K
Shares

सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङको सामूहिक हत्यामा प्रहरीले स्थानीयमाथि नै अनुसन्धान सुरु गरेको छ ।

भदौ २१ गते तेजबहादुर कार्की परिवारको सामूहिक हत्यामा स्थानीयले हत्या भइरहेको देखेर पनि नदेखेजस्तो गरी घटनाबारे जानकारी नगरेको भन्दै प्रहरीले केही स्थानीयमाथि थप अनुसन्धान सुरु गरेको हो ।

हाल हत्याका आरोपित लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने उनका भाई नरेश कार्की पनि पाँच दिनदेखि प्रहरीको नियन्त्रणमा छन् । आरोपितका भाईले घटना घटेपछि मृतक रञ्जना कार्कीको मोबाइल फोन लगेको प्रहरीले बताएको छ ।

त्यसपछि अनुसन्धान अघि बढाउँदै जाँदा र मृतकको शबको पोष्टमार्टम रिपोर्ट हेर्दा मृतक रञ्जना र रञ्जनाकी सासु कमलामाथि धारिलो हतियारको प्रयोग भएको रिपोर्ट आएको छ । यसअघि हत्या स्विकार गरेका आरोपित लोकबहादुर कार्कीले चिर्पटले हानेर हत्या गरेको बयान दिएका थिए । तर, हाल प्रहरी अनुसन्धानमा रञ्जना र सासु कमलामाथि चिर्पटमात्र नभएर धारिलो हतियार प्रहार भएको देखिएको छ ।

सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार रञ्जना र कमलाको पोष्टमार्टम रिपोर्टमा धारिलो हतियार प्रयोग भएको छ ।

डिएसपी सुवेदीले भने, ‘अहिले हामी घटनामा लोकबहादुर मात्रै नभएर अन्य व्यक्तिको पनि संलग्नता छ कि भनेर थप अनुसन्धान गरिरहेका छौँ । हाम्रो अनुसन्धान टोलीले यसबारे अनुसन्धान गरिरहेको छ ।’

हालसम्म करिब ५० जना स्थायीसँग सोधपुछ भएको डिएसपी सुवेली बताए ।