प्रदेश–१ को मुख्यमन्त्रीमा यी तीनको दाबी
असोज २२ गते प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौ ३० गते मुख्यमन्त्री भीम आचार्यले मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । विश्वासको मत लिने समयअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षी गठबन्धनको तयारी छ ।
नेकपा माओवादी केन्द्र प्रदेश–१ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले असोज ८ गतेपछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताए । ‘संविधानअनुसार असोज ८ गतेभित्र विश्वासको मत लिनका लागि प्रक्रिया शुरु गर्नुपर्छ’, उनले भने– ‘संसद् अधिवेशन २२ गते बोलाउनुभएको छ, ८ गतेबाट प्रक्रिया शुरु नगरे अविश्वासको प्रस्ताव ल्याउँछौं ।’
प्रदेश सरकारको नेतृत्वका लागि माओवादी र नेकपा एकीकृत समाजवादीले सार्वजनिकरूपमा दाबी प्रस्तुत गरेको छैन । तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । मुख्यमन्त्रीले संविधानको उल्लंघन गरे पनि प्रतिपक्षी दलले ३० दिन पुगेपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए ।
गत भदौ ९ गते नेकपा एमाले विभाजन भएको थियो । प्रदेश संसदीय दलको विभाजन भने भदौ २५ गते भएको थियो । प्रतिपक्षी दल भदौ ९ गतेबाट शुरु हुने ३० दिनभित्र विश्वासको मत लिनुपर्ने दाबी गर्छ । सत्तापक्ष भने भदौ २५ गतेबाट ३० दिनभित्र विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरेको बताउँछ ।
९२ प्रदेशसभा सदस्य रहेको प्रदेश–१ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता पक्षसँग सभामुखसहित ४१ सांसद रहँदा विपक्षी गठबन्धनमा ५० सांसद छन् ।
बहुमतसहित प्रदेश सरकारको नेतृत्व गरिरहेका एमाले नेता शेरधन राईले पार्टी विभाजन भएको दोस्रो दिन भदौ १० गते प्रदेश सरकारको बागडोर एमाले सचिव भीम आचार्यलाई हस्तान्तरण गरेका थिए ।
पार्टी विभाजन हुँदा माधव नेपाललाई साथ छाडेका कारण दोस्रो मुख्यमन्त्री बनेका आचार्यले विश्वासको मत नपाए दशैंअघि नै संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन हुनेछ ।
तेस्रो मुख्यमन्त्रीको लाइनमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई छन् ।
माओवादी नेता आङ्बो प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने विषयको टुंगो एक साताभित्र पार्टी गठबन्धनका शीर्ष नेताले लगाउने बताए । प्रदेश भागबन्डा हुँदा प्रदेश–१ तीन दलमध्ये एकले पाउने उनले बताए । समाचारपत्र दैनिकमा छ ।
३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित
स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।
यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्।
दुवै पक्षले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा छुट्टाछुट्टै नेतृत्व पठाएका छन्। २०७३ जेठमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा सबैभन्दा बढी भोट ल्याएको एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष पद पाएको थियो। दोस्रो भोट ल्याएको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव पद पाएको थियो।
आफूले पाएको अध्यक्ष पदमा नेपाल निजामती कर्मचारी संगठनले पुण्य ढकाललाई पठाएको थियो। ढकाल उपसचिव पदमा बढुवा भएपछि रिक्त ठाउँमा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल कार्यबाहक अध्यक्ष नियुक्त भएका थिए। पोखरेल माधव नेपालनिकट मानिन्छन्।
केपी ओलीनिकट कर्मचारीहरूले भोला पोखरेललाई फिर्ता बोलाई पोखरेलको ठाउँमा ओलीनिकट अध्यक्ष केदार देवकोटाले आफैंलाई सिफारिश गरेका छन्। यता नेपालनिकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कर्मचारी संगठनका पूर्वअध्यक्ष तथा माधव नेपालनिकट मोहन घिमिरललाई सिफारिश गरेका छन्। नागरिक दैनिकबाट
मेलम्ची पुनर्निर्माणका लागि एक अर्ब
बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ ।
मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिए ।
यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्ययोजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्ययोजना सरकारसमक्ष पेस गरेको थियो । गोरखापत्र दैनिकबाट ।
रोनाल्डोको गोल गर्दा म्यान्चेस्टर युनाइटेड विजयी
मार्क नोबलले खेलको इन्जुरी समयमा पेनाल्टी गोल गर्नबाट चुक्दा म्यान्चेस्टर युनाइटेडले वेस्ट ह्यामलाई पराजित गरेको छ । आइतबार युनाइटेडले २–१ को जीत निकाल्दै प्रिमियर लिगमा यो सिजन आफ्नो अपराजित यात्रालाई कायम राखेको हो ।
खेलमा अग्रता भने वेस्ट ह्यामले लिएको थियो । साइद बनेरामाले खेल ३० औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, लगत्तै क्रिस्टियानो रोनाल्डोले युनाइटेडका लागि बराबरी गोल फर्काए । आफ्नो पुरानो क्लबमा फर्किएपछि रोनाल्डोले ३ खेलमा ४ गोल गरिसकेका छन् ।
बराबरीतर्फ अग्रसर खेलको ८९ औँ मिनेटमा जेसे लिन्डगार्डले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै युनाइटेडलाई खेलमा पहिलोपटक अग्रता दिलाए । गत सिजन उनले वेस्ट ह्याममा लोनमा बिताएका थिए । इन्जुरी समयमा लुक शले ह्यान्ड बल गरेपछि वेस्ट ह्यामले पेनाल्टी पायो । जसलाई नोबलले गोलमा परिणत गर्न सकेनन् ।
५ खेलपछि युनाइटेडले ४ खेलमा जीत र १ मा बराबरी गर्दै १३ अंक बटुलेको छ । गोल अन्तरको आधारमा टोली लिगको तेस्रो स्थानमा छ । वेस्ट ह्याम भने ८ अंकसहित लिगको आठौँ स्थानमा छ ।
६ लाख नेपाली युवा रोजगारी गुमेपछि स्वदेश फर्किए
स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७,०७८ मा अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.८ प्रतिशतले गरेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो । अन्नपूर्ण पोस्ट् दैनिकबाट ।