गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ ।
प्रहरीले हत्यामा संलग्न भएको भन्दै थप ४ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकाहरुलाई आज सार्वजनिक गरिँदै छ ।
पक्राउ पर्नेमा यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइसहित ४ जना रहेका छन् । उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । यस्तै उनका भाइ नरेश कार्कीलाई सोधपुछका लागी भदौ ३१ मा पक्राउ गरेको थियो । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।
भदौ २८ गते बिहान मादी–१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको वीभत्स रूपमा सामूहिक हत्या भएको थियो ।