logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा तालिबानविरुद्ध आईएस–केको आक्रमण, ३५ तालिबान लडाकु मारिए


अंकुरण खबर
689
Shares

अफगानिस्तानमा इस्लामिक स्टेट आइएसको शाखा खुरासान प्रान्त आईएस–केले तालिबानविरुद्ध कारवाही सुरु गरेको छ।

आईएस–के समूहले तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि आफूहरुले तालिबानलाई निशाना बनाएर पहिलोपटक कारवाही गरेको जानकारी दिएको हो।

आफूले हालै नान्गरहार प्रान्तको राजधानी जलालाबादमा तालिबानलाई लक्षित गरी विस्फोट गर्दा ३५ तालिबानीको मृत्यु भएको उनीहरुको दाबी छ। आईएसले आफ्नो दाबीमा तालिबानलाई ‘धर्म भ्रष्ट लडाकु’ भनेको छ।

यसरी आइएसले आक्रमण गर्न थालेपछि अव्यवस्थित तालिबान सरकारलाई थप चुनौती थपिएको छ। यसअघि १५ अगष्टमा जब तालिबानले राजधानी काबुल कब्जा गरेका थिए तब आईएसले अमेरिकाले अफगानिस्तान छाडेका कारण मात्र तालिबानको सत्ता फर्किएको बताएको थियो। तालिबानले लडाइले अमेरिकालाई हराएको भन्ने भनाइमा आईएस विश्वस्त छैन।

आईएस र तालिबान कसरी फरक?
‘तालिबान अफगानिस्तानको सबैभन्दा महत्त्वपूर्ण खेलाडी हो। आईएस आफ्नो सञ्जाल पुनः निर्माण गर्न प्रयासरत अन्तर्राष्ट्रिय जिहादी समूह हो। तर यो अलकायदा र तालिबान दुवैको घातक दुस्मन हो’ न्युयोर्कस्थित सोपान सेन्टरका सुरक्षा विश्लेषक कोलिन क्लर्क भन्छन्।

तालिबान सन् १९८० को अन्त्यतिर अफगानिस्तानमा सोभियत सङ्घको आक्रमणविरुद्ध प्रतिकार र सन् १९९० को सुरुतिर अफगानिस्तानमा देखिएको आन्तरिक द्वन्द्वसँगै उदय भएको हो।

आईएस त्यसको वर्षौँपछि सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेपछि अलकायदाको स्थानीय शाखाको अवशेषहरूबाट विस्तार भएर बनेको समूह हो।

सन् २००७ मा इराकमा अमेरिकी फौज थपिएपछि निकै वर्षसम्म हराएको यो समूह सन् २०११ पछि फेरि देखिन थाल्यो।

तालिबानको चासो अफगानिस्तानमा मात्रै सीमित रहे पनि आईएसको विश्वव्यापी आकाङ्क्षा छ।

वासिङ्टनस्थित जर्जटाउन विश्वविद्यालयका मध्यएसिया आतङ्कवाद विज्ञ ड्यानियल बाइमन तालिबान विगतको आदर्श मुस्लिम देशमा अफगानिस्तानलाई फर्काउन चाहने बताउँछन्। आईएसको चाहना विश्व नै मुस्लिम राज्य बनाउने रहेको छ। बीबीसी