सोमबार उच्च अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकको सुधार देखिएको छ।
यसअघि मंगलबार नेप्से परिसूचक १३ अंकले बढेको नेप्से परिसूचक आज बुधबार १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८ सय १६ दशमलव ९५ अंकमा पुगेको हो।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९ दशमलव ४७ अंकले बढेको छ।
बुधबार बजारमा बाउन्स ब्याक आएको शेयर बजारका जानकार छोटेलाल रौनियार बताउँछन्। धेरै घटेर पुनः बजार बढ्दा त्यसलाई बाउन्स ब्याक भएको भनिन्छ ।
३ हजार २ सय अंकमा पुगिसकेको नेप्से परिसूचक २ हजार ६ सय नजिक झरिसकेको थियो।
बजार घटबढको प्रक्रिया भए पनि लगातार धेरै घट्दा लगानीकर्ताहरू आत्तिएका थिए। केही लगानीकर्ताहरु बजारका विषयमा नकरात्मक नीति बनाएको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलन समेत गरिरहेका छन्।
नेप्से परिसूचकमा बाउन्स ब्याक आए पनि कारोबारमा भने उल्लास देखिएको छैन।
दिनभरमा भएका ७२ हजार ७१४ कारोबारबाट १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर किनबेच भएका छन्।
जसअनुसार कारोबार रकम ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ पुगिसकेको छ।