धर्नामा बसेका कार्यकर्तामाथि दुर्व्यवहार भएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा शेखर कोइरालाले विरोध प्रदर्शन गर्ने भएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता छानवीनको माग गर्दै धर्नामा बसेका कार्यकर्तामाथि दुर्व्यवहार भएको भन्दै संस्थानपइतर समूह (वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा. शेखर कोइराला) ले सानेपामा प्रदर्शन गर्ने भएका हुन् ।
नेपाली कांग्रेस सर्लाहीका कार्यकर्तामाथि प्रदेश २ का युवामन्त्री वीरेन्द्र सिंहले दुर्व्यवहार गरेको भन्दै आज विरोध प्रदर्शन हुन लागेको वरिष्ठ नेता पौडेल स्रोतले जनाएको छ ।
वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य कोइराला केहीबेरमा सानेपा पुगेर धर्नामा रहेका सर्लाही कांग्रेसका कार्यकर्ताहरुको विरोधमा समर्थन जनाउने बताइएको छ ।