तोकिएको समयभन्दा आधा घण्टा ढिलो सुरु भएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ।
सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका हुन्। सभामुखले बैठक अगाडि बढाउन आग्रह गरे पनि नाराबाजी नरोकिएपछि बैठक अघि बढाएका छन्।
बैठक दिउँसो दुई बजेका लागि बोलाइएकोमा साढे दुई बजे सुरु भएको थियो। संघीय संसद्को चालू (नवौं अधिवेशन) सुरु भएदेखि नै एमालेले निरन्तर अवरोध गर्दै आएको छ। माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेले भदौ २३ गतेदेखि संसद्का हरेक बैठकमा नाराबाजी गरिरहेको छ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले विनियोजन विधेयक, २०७८ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गर्ने लगायत कार्यसूची छन्।