प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रिल २०२२ सम्ममा सबै नेपालीलाई खोप दिने लक्ष्य पूरा गर्न नेपाल सरकारले काम गरिरहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बोइडेनले आयोजना गरेको कोभिड–१९ विरुद्ध सहकार्यसम्बन्धी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामीले अप्रिल २०२२ सम्ममा सबै नेपालीलाई पूर्ण रूपमा खोप लगाइसक्ने लक्ष्य लिएका छौँ । ग्रामीण भेगमा पनि सहजै खोप उपलब्ध गराउन हामीले खोप सञ्जाल विस्तार गरिसकेका छौँ ।’
पहिलो र दोस्रो लहरका संकटबाट पाठ सिकेर नेपाल अहिले स्वास्थ्य पूर्वाधारको सुधार, अक्सिजन तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति, परीक्षण केन्द्रहरू विस्तारलगायत काममा केन्द्रित रहेको प्रधानमन्त्रीले बताए । ‘हामीले जिन सिक्वेन्सिङ क्षमता पनि विकास गरेका छौँ,’ उनले भने, ‘आम जनतालाई कोभिड–१९ का स्वास्थ्य सुरक्षा उपायका बारेमा पनि जानकारी दिने क्रम हामीले जारी राखेका छौँ ।’
लक्षितमध्ये लगभग आधा जनसंख्याले कम्तिमा एक डोज खोप लगाइसकेको र एक चौथाइ जनताले दुवै मात्रा पूरा गरिसकेको उनले उल्लेख गरे ।
‘थप एक करोड खोपको आपूर्ति पनि सुनिश्चित भइसकेको छ। हाल हामी आर्थिक रूपमा सक्रिय जनतालाई खोप उपलब्ध गराउन केन्द्रित छौँ,’ उनले भने, ‘साथै, १२ देखि १८ वर्ष उमेर समूहका लागि पनि खोप ल्याउने सुनिश्चित भइसकेको छ।’
‘ग्लोबल हेल्थ सपोर्ट फन्ड’ स्थापना गर्ने कदमको नेपालले पूर्ण समर्थन गर्ने उनले बताए । ‘यस कोषको विकासमा साझेदारहरूको निरन्तर सहयोग र नियमित योगदान थप आवश्यक हुने विषयमा पनि जोड दिन चाहन्छौँ,’ उनले भने ।