सरकारले यही असोज ११ गतेदेखि दशैंका लागि सवारी साधनहरुको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भोलिदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिएको बताएका हुन् ।
उनले कोरोना महामारीको जोखिम नघटेकोले अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउँदा सहज र उपयुक्त हुने बताए । उनले काठमाडौं उपत्यकाको १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आउने बताउँदै अहिलेसम्म ५ वटा सहायता कक्ष तयार भइसकेको र सोमबारबाट १४ वटै तयार बनाएर भोलिबाट नै सञ्चालनमा ल्याउने बताए ।
दशैँको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न कुनैपनि सवारीसाधन चेकजाँचमा खुला गर्ने बताउँदै दशैँलक्षित राजमार्गहरु खुलाउने, सडक मर्मत गर्ने कार्यमा मन्त्रालय लागि परेको उनको भनाइ थियो ।
त्यस्तै समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइन र मोबाइलबाट टिकट बुकिङ गर्न उपभोक्ताहरुलाई अनुरोध गरे । उनले मोबाइलबाट खल्ती डटकम, इसेवा र सम्पूर्ण बैंकहरुको मोबाइल एप्लिकेशनबाट टिकट काट्न सकिने र अनलाइनबाट भने यातायात व्यवसायीहरुको अनलाइनबाट टिकट खरिद गर्न सकिने बताए ।
महानिर्देशक घिमिरेले कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा गाउँ जाँदा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौंका विभिन्न स्थानबाट सवारी साधनहरु छुट्ने बताए ।
पश्चिम चल्ने यातायातका लागि नयाँ बसपार्क र पूर्वका सवारीसाधनहरुका लागि कोटेश्वर, चाबहिल, नदीका खाली ठाउँहरुमा प्रहरीको सक्रियतामा सवारीसाधन छुट्ने पनि बताए ।