logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुद्ध एअरः विमान ‘अवतरणमा समस्या’ भएको घटना के हो ?


अंकुरण खबर
1.118K
Shares

काठमाण्डूबाट विराटनगरका लागि सोमवार बिहान उडेको बुद्ध एअरको एउटा विमानलाई पुनः काठमाण्डू नै फर्काएर अवतरण गराइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

एउटा ल्यान्डिङ गिअरमा अचानक समस्या देखिएपछि गन्तव्यमा नपुग्दै विमानलाई फर्काइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बीबीसी न्यूज नेपालीलाई बताए।

“विराटनगर पुग्नै लाग्दा विमानको दायाँपट्टिको ल्यान्डिङ गिअर लक भएर रातो बत्ती बल्यो। अनि पाइलटले ग्राउन्ड अपरेशनका इन्जिनियरसँग परामर्श गर्न थाल्नुभयो।”

“पाइलट आफूले पनि प्रयास गर्दै गर्दा पछि तीनवटै ल्यान्डिङ गिअर ठिक देखियो र हरियो बत्ती पनि बल्यो। तर सुरक्षा सावधानी अपनाउँदै जहाजलाई उहाँले डाइभर्ट गर्नुभयो,” क्षेत्रीले थपे।

उनका अनुसार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फर्काइएपछि पनि कम उचाइमा विमानलाई उडाएर अवतरणको स्थितिको समीक्षा गरिएको थियो।

“त्यसपछि जहाजलाई सुरक्षितर रूपमा अवतरण गराइएको हो। र, जहाज अहिले पार्किङमा छ,” उनले भने।

“फोर्स्ड ल्यान्डिङका लागि फमको व्यवस्था मिलाइसकेका थियौँ र त्यसलाई मध्यनजर गरी दमकल र एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका थियौँ।”

घटना कति बेला भएको हो?

नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रवक्ता क्षेत्रीका अनुसार चालक दलका सदस्यबाहेक ७३ जना सवार बुद्ध एअरको एटीआर विमान बिहान ८ बजेर ३५ मिनेटमा काठमाण्डूबाट उडेको थियो।

“विमानमा प्राविधिक समस्या देखिएको जानकारी ९ बजेर १५ मिनेटमा गराइएको थियो,” प्रवक्ता क्षेत्रीले भने।

उनका अनुसार विराटनगर नजिकको आकाशबाट फर्काइएको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजेर २७ मिनेटमा अवतरण गराइयो।

काठमाण्डू र विराटनगर बीचको हवाई दूरी ४० मिनेटको छ।

घटनाबारे बुद्ध एअर के भन्छ?

बुद्ध एअरका बजार प्रबन्धक रूपेश जोशीका अनुसार विमानको ल्यान्डिङ गिअरमा नभई त्यसको इन्डिकेटरमा समस्या देखिएको थियो।

“प्राइमरी र सेकेन्डरी इन्टिकेटरमध्ये प्राइमरीमा सङ्केत नदेखिएर रातो बत्ती बलेको थियो,” जोशीले बीबीसी न्यूज नेपालीसँग भने।

“काठमाण्डूको आकाशमा आइसकेपछि बुद्ध एअरको टेक्निकल टीमको रेडिओ सम्पर्कमा ल्यान्डिङ गिअर जाँच गर्दा सही र झरेको जानकारी दियो,” घटनापछि बुद्ध एअरद्वारा जारी विज्ञप्तिमा उल्खेख छ।

“अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिका अनुसार सुरक्षितसाथ जहाजलाई नर्मल अवरण गराइयो।”

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धन कम गर्न केहीबेर काठमाण्डूको आकाशमा फन्को मार्न लगाएर अवतरण गराइएको बुद्ध एअरले जनाएको छ।

बीबीसी