राष्ट्रसंघको जारी ७६ औं महासभामा अफगानिस्तानले सम्बोधन गर्न नपाउने सम्भावना बढेको छ ।
तत्कालिन असरफ गनी सरकारले नियुक्त गरेका राष्ट्रसंघका लागि अफगानी दूत गुलाम इसकजईले आफ्नो नाम फिर्ता लिएपछि अफगान प्रतिनिधिको सम्बोधनबारे टुंगो लाग्न नसकेको राष्ट्रसंघकी प्रवक्ता मोनिका ग्रेलीले जानाकारी दिएकी हुन् ।
‘राष्ट्रसंघको जारी महासभाको वैठकमा सम्बोधन गर्ने व्यक्तिहरुको सूचीबाट इसकजईले आफ्नो नाम हटाएका छन्,’ ग्रेलीले भनिन् । तालिवानको दबाबमा उनले नाम हटाएको हुन सक्ने अनुमान गरिएको छ ।
यसअघि तालिवानले अफगानिस्तानको तर्फबाट महासभामा सम्बोधनका लागि कतारस्थित राजनीतिक कार्यलयका प्रमुख सुहैल शाहीनको नाम पठाएको थियो ।
राष्ट्रसंघको एक समितिले अनुमोदन गरेपछि मात्र उनको टुंगो लाग्ने र जारी वैठकमा यसबारे हुने छलफल केही लामो हुने भएकोले शहीनको प्रतिनिधित्वबारे अनिश्चित देखिन्छ । समितिमा अमेरिका, चीनलगायतका देशका सदस्य छन् । एजेन्सी