logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मास्क नलगाउने यात्रुले आजबाट सार्वजनिक सवारी साधन चढ्न नपाउने


अंकुरण खबर
611
Shares

मास्कबिना काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाइने भएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो।

उपत्यकाको भीडभाडलाई मध्यनजर गरी सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो। स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधनमा प्रवेश रोक लगाउन आदेश दिइएको छ।

त्यस्तै, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ। आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ।

कोभिड–१९ सङ्क्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ। चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ।

चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ। यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ।

बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनैपरेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ। सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ। उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ।

होटल पार्टीप्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैँ एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ। सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ।

स्थानीय ढुवानी बिहान १ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी बिहान १ देखि ५ बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ।